• info@dsfacldullu.com
  • कर्णाली प्रदेश नेपाल
 सहकारी इतिहासकै कठिन परिस्थितिमा

सहकारी इतिहासकै कठिन परिस्थितिमा

प्रकाशित: बुधबार, असार २४, २०७७

  • ह्याण्ड टु ह्याण्ड, म्यान टु म्यान भन्दा पनि सहकारीलाई भर्चुअल प्रणालीमा बदल्नुपर्छ
  • सहकारीलाई सानो रुपमा होईन, मास रूपमा अघि बढाउनुपर्छ । सहकारी क्षेत्रमा लाखौं मानिसलाई जोड्नुपर्छ
  • आत्मनिर्भर हुन पनि आफैँले उत्पादन गर्नुपर्छ। हामीसँग जमिन छ। त्यसैलाई उपयोग गर्ने हो।

विश्वव्यापी महामारीका रूपमा देखिएको कोभिड-१९ ले अन्य क्षेत्रजस्तै सहकारीको क्षेत्रमा जत्तिकै गहिरो असर गरेको छ। विशेषतः सहकारीले सानो-सानो रकम बचतका लागि संकलन गर्थे। 

दैनिक रूपमा पसल, व्यवसाय भएको ठाउँमा गएर सहकारीका प्रतिनिधिले रकम संकलन गर्थे। पसल व्यवसाय बन्द हुँदा संकलनमा अवरोध भयो। 

सहकारीको पनि कर्जा प्रवाह अत्यन्त न्यून छ। तेस्रो उत्पादनसंग जोडिएका सहकारीहरु पनि समस्यामा परेका छन्। कृषि, दुग्ध वा बहुउद्देश्यीय सहकारी क्षेत्रमा भने उत्पादनमा समस्या परेको छ। 

अहिले दशौं लाख मानिस वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्किएका छन्। उनीहरुलाई रोजगारी दिनुपर्ने अवस्था छ। उनीहरुलाई रोजगारीमा आवद्ध गराउने मुख्य माध्यम सहकारी हुनसक्छ। 

त्यसैगरी, मल, बीऊ समयमा नपाउने, पाए पनि ढुवानीमा समस्या हुने कारणले उत्पादन भएका सामान बजारसम्म पुर्याउन कठिनाई भएको छ। सहकारीले ईतिहासमै नभोगेको कठिन परिस्थिति अहिले भोगिरहेको छ। 

यो समस्या समाधानको लागी दुई तीन वटा रणनीति छन्। कोभिड-१९ले समस्या ल्याए पनि कालो बादलमा चाँदीको घेरा हुन्छ भनेको जस्तै अवसर पनि सँगै आएको छ। 

अब सबै सहकारीले सबै प्रणाली डिजिटलाईज गर्नेतिर जानु राम्रो हुन्छ। ह्याण्ड टु ह्याण्ड, म्यान टु म्यान भन्दा पनि सहकारीलाई भर्चुअल प्रणालीमा बदल्नुपर्छ। 

किसानले सधैं उत्पादन बोकेर ढोका ढोकामा हिड्ने होइन। प्रत्येक गाउँमा एउटा संकलन केन्द्र हुन्छ। सहकारीको संकलन केन्द्रले किसानको उत्पादन संकलन गर्छ र बजारसम्म पुर्‍याउँछ। 

डा. टोकराज पाण्डे

सहकारी आफैँले सवारी साधनको व्यवस्था तथा ढुवानीको व्यवस्था मिलाएर सामान उपभोक्ताको घरदैलोमा पुर्‍याउने व्यवस्था हो। यसले गर्दा विचौलियाको रजगज अन्त्य हुन्छ। किसानले पनि मुल्य पाउँछ। उपभोक्ताले पनि न्यूनतम मुल्यमा सामान पाउँछ। यो योजना कार्यन्वयन गर्ने सोच सहकारी विभागले बनाएको छ। 

अहिले विपद आयो अब आउँदैन भन्ने होईन। एउटा माघले जाडो नगएजस्तै यस्ता विपद पटक पटक आईरहन्छन। यो विपदबाट उन्मुक्तिका लागि दीर्घकालिन योजनामा काम गर्नुपर्छ। 

सहकारीलाई सानो रुपमा होईन, मास रुपमा अघि बढाउनुपर्छ । सहकारी क्षेत्रमा लाखौं मानिसलाई जोड्नुपर्छ। केही हजार संख्याका मानिस मात्रै सहकारीमा आवद्ध भएर हुँदैन। सहकारी भनेको त सहकार्य हो। 

आगामी दिनमा आम मानिसमा सहकारी पुग्ने गरी आक्रामक योजना बनाएर कार्यन्वयन गर्ने तयारीमा छौं। 

त्यसैगरी, सहकारीलाई उत्पादनसँग जोड्न आवश्यक छ। उत्पादनको आकार सानो भएर बजार नपाउँदा कृषकलाई समस्या भएको छ। 

उत्पादनको परिमाण बढाउने हो भने बजार आफै विस्तार हुन्छ। हामी यो अवस्थामा पनि अघि बढिरहेका छौं। 

रोजगारी र उत्पादन

अहिले सहकारी क्षेत्रमा ६२ देखि ६५ हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन। अन्य दशौं लाख मानिसले अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन्।

अहिले दशौं लाख मानिस वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्किएका छन्। उनीहरुलाई रोजगारी दिनुपर्ने अवस्था छ। उनीहरुलाई रोजगारीमा आवद्ध गराउने मुख्य माध्यम सहकारी हुनसक्छ। 

कोरोना महामारीका कारण मानिसहरूले आफूले उत्पादन गर्‍यो भने मात्रै खान पाइने रहेछ भन्ने सिकाएको छ। आत्मनिर्भर हुन पनि आफैँले उत्पादन गर्नुपर्छ। हामीसँग जमिन छ। त्यसैलाई उपयोग गर्ने हो। 

जमिनमा सिँचाई छैन होला, मल छैन होला, कतै काम गर्ने जनशक्ति छैन होला। यी सबै कुरा पहिचान गरेर, कहाँ के छैन त्यसको आपूर्ति गर्ने हो भने स्वदेशी उत्पादन बढ्छ। त्यसमा सहकारी क्षेत्रले योगदान गर्न सक्छ। 

अधिक तरलता

अहिले सहकारीमा तरलताको अभाव भएको छ। सहकारीबाट पैसा झिक्ने परिस्थिति छैन। पैसा फिर्ता लिनेको संङख्या बढ्यो भन्ने हाम्रो प्रारम्भिक अनुमान थियो। सहकारी विभागले एउटा अध्ययन गर्यो। 

अध्ययनबाट तरलताको कमी नभई बढेको देखियो। अरु समयभन्दा अहिले सहकारीमा डिपोजिट बढेको छ। डिपोजिट बढेको कारण मान्छेले आफुले जम्मा गरेको पैसा निकाल्न, ऋण लिन र उद्यमशीलता प्रवद्र्धन गर्न कुनै समस्या छैन।

खुशीको कुरा बैक वित्तिय संस्थामा बढेजस्तै सहकारीमा पनि पर्याप्त तरलता छ। निक्षेप बढेको छ। 

हरेक आँधी असल माझिका लागि अवसर पनि हो भनिन्छ। त्यस्तै, सहकारीका लागि यो कोभिड पनि अवसर हो। उत्पादन बढाउन, बजार विस्तार गर्न अवसर समेत देखा परेको छ। सहकारीप्रति नागरिकको विश्वास जागेको छ। 

तर, साना तथा मझौला उद्योगहरुलाई केही संकट परेको छ। दैनिक बचतमा असर परेको छ। तर, मास रुपमा आउने बचत भने बढेको छ। आत्तिनु पर्ने अवस्था छैन। सहकारीमा बचत गरेको पैसा समयमै पाइन्छ। एक दुई वटा सहकारी समस्यामा परेका हुन सक्छन्। तर, समग्रमा त्यस्तो ठूलो समस्या परेको देखिदैन। 

कोभिड-१९ ले ल्याएको चुनौतीलाई सामना गर्न अब नयाँ कार्यक्रम, योजना बनाएर लैजानुपर्छ। सहकारी संस्थाहरू क्रियाशिल छन्। सहकारी अभियान जागरुक छ र सहकारी विभागले योजना तयार गरेको छ। 

सहकारीमा अवसर

हरेक आँधी असल माझिका लागि अवसर पनि हो भनिन्छ। त्यस्तै, सहकारीका लागि यो कोभिड पनि अवसर हो। उत्पादन बढाउन, बजार विस्तार गर्न अवसर समेत देखा परेको छ। सहकारीप्रति नागरिकको विश्वास जागेको छ। 

यही बीचमा डेलिभरी दिन सकिएन भने नागरिकको विश्वास धरासायी बन्छ। त्यसैले, बजार व्यवस्थापनको कुरा अघि बढेको छ।

कम्तिमा मुख्य–मुख्य ठाउँमा बजार बनाउने र उत्पादन त्यहीँबाट अगाडि बढाउने गरी योजना बनेको छ। यसलाएै पूर्ण रुपमा कार्यान्वयन गर्न केही समय लाग्छ। आगामी एक वर्षमा सहकारीको उत्पादन बढ्छ र बजार पाउँछ। 

(रोजिना थापाले सहकारी विभागका रजिस्टार पाण्डेसँग गरेको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *